नौआक्चोट । मौरिटानियाको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ६९ जनाको मृत्यु भएको छ भने अझै धेरैजना बेपत्ता छन्।

मौरिटानियाली तटरक्षकको भनाइअनुसार, दुर्घटनापछि १७ जनालाई जीवितै उद्धार गरिएको छ। बाँकी हराइरहेका यात्रुहरूको खोजी कार्य जारी छ।

उद्धार भएकाहरूले बताएअनुसार, उक्त डुंगा करिब १६० यात्रु लिएर गाम्बियाबाट ६ दिनअघि निस्किएको थियो। यात्रुहरू प्रायः गाम्बिया र सेनेगलका नागरिक रहेको जनाइएको छ।

स्पेनको क्यानरी टापुतर्फ गइरहेको काठको डुंगा मंगलबार दुर्घटनामा परेको हो। युरोप पुग्ने उद्देश्यले अफ्रिकी आप्रवासीहरूले एट्लान्टिक महासागर पार गर्ने खतरनाक यात्रा हालैका वर्षहरूमा बढ्दो छ।

गत वर्ष मात्र करिब ४७ हजार आप्रवासी क्यानरी टापु पुगेका थिए। तर, स्पेनी गैरसरकारी संस्था कोमिनान्डो फ्रोन्टेरास का अनुसार सोही अवधिमा ९ हजारभन्दा बढीले यात्रा क्रममा ज्यान गुमाएका थिए।