काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गर्नुभएको छ। उहाँ चीनको तियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन जानुभएको हो।

हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत चीन जानुभएका प्रधानमन्त्री ओलीसँगै २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसमेत चीन पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपति सहित अन्य छ देशका सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले यही १६ गते तियानजिनमा हुने ‘एससीओ प्लस’ शिखर सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सो सम्मेलनमा सहभागी हुन चीन पुग्ने तयारीमा छन्। ओली–मोदी भेटवार्ताबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।