काठमाडौँ, १४ भदौ। प्रधानसेनापति अशोकराज सिग्देल अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड र थाई शाही सेनाको सहकार्यमा थाइल्यान्डको ‘हुअ हिन’ मा सम्पन्न ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।

भदौ १० देखि १२ गतेसम्म चलेको उक्त सम्मेलनमा सहभागी भई शुक्रवार राति स्वदेश फर्किएका सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मलकुमार थापाले स्वागत गरेका थिए।

जङ्गी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सम्मेलनमा क्षेत्रीय सुरक्षा, सैनिक सहकार्य र आपसी समन्वयका विषयमा छलफल भएको थियो।