पर्सा – पटेर्वासुगौली गाउँपालिका–२ अन्तर्गत गादी विद्युत् उपभोक्ता समितिको लापरवाहीका कारण दुई सयभन्दा बढी घरधुरी लामो समयदेखि विद्युत् समस्याको चपेटामा परेका छन्। घरेलु प्रयोगका लागि प्रतियुनिट ८ रूपैयाँ र कृषि मिटरका लागि १० रूपैयाँ असुल्दै आएको समितिले केवल ५० वाटको ट्रान्सफर्मरबाट चार गाउँका बासिन्दालाई विद्युत् आपूर्ति गर्दा अत्यन्तै न्यून भोल्टेजका कारण समस्या थपिएको हो।

रामपुर, मकवानी, वनकटुवा र चापी गाउँका स्थानीयले पङ्खा, मोटर जस्ता विद्युतीय उपकरण चलाउन नसक्नुका साथै सिंचाइमा समेत गम्भीर असर परेको गुनासो गरेका छन्। चापी गाउँका किसान राम लामा भन्छन्, “एक वर्षदेखि ढलेको पोल नउठ्दा खेतमा सिंचाइ गर्न सकिएको छैन। आकाशे पानीसमेत नपरेपछि धान सुकेर नष्ट हुन थालेको छ।”

किसानहरूले विकल्पस्वरूप डिजेल पम्पसेट चलाउनु परेको र त्यसबाट आर्थिक भार थपिएको गुनासो गरेका छन्। “घण्टाको ३०० रूपैयाँ खर्च पर्छ,” लामा भन्छन्, “विद्युत् भएको भए कम लागतमा काम हुन्थ्यो।”

यता, जीवनकुमार रानामगरले भोल्टेज कम हुनुले जङ्गली जनावरको त्रास समेत बढेको बताए। “गाउँमा उज्यालो नहुँदा जनावरले बाली नष्ट गरिरहेका छन्, हामीले वडाध्यक्षदेखि समितिसम्म सबैलाई भन्यौं तर सुनवाइ छैन,” उनले भने।

विद्युत् उपभोक्ता समितिले महसूल असुली नियमित रूपमा गर्दै आए पनि समस्याको समाधानमा कुनै चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन्। समितिले महसूल नतिर्ने उपभोक्तालाई जरिवाना त लगाउने गरेको छ, तर मर्मत, ट्रान्सफर्मर अपग्रेड, पोल उठाउने काममा भने निष्क्रिय देखिएको छ।

चापीका दुवा माझीले ११ वर्षअघि मिटर जडानको लागि ३ हजार तिरे पनि अहिलेसम्म मिटर नपाएको गुनासो गरे। “मिटर नदिएपछि अर्कैबाट मिटर जडान गरेर काम चलाएको छु,” उनले बताए।

नेपाल विद्युत् प्राधिकरणको पोखरिया सबस्टेशनका सुपरभाइजर कुलदीप सदाका अनुसार उपभोक्ता समितिले आफ्नो क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नुपर्ने हो, र प्राधिकरणको सो मामिलामा प्रत्यक्ष संलग्नता हुँदैन।

समितिका अध्यक्ष दलबहादुर रानामगरले भने आर्थिक अभावका कारण समस्या समाधानमा कठिनाइ भएको स्वीकार गरे। “हामीले गापा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई पटकपटक जानकारी गरायौं तर कतैबाट पनि सहयोग पाएका छैनौं,” उनले बताए।

उनले केही सदस्यहरू महसूल बुझाउन नआएपछि आर्थिक संकट आएको र मिटरको अभावसमेत समस्या थपिएको बताए।

स्थानीयवासीहरूले अब समितिको संरचना परिवर्तन गर्दै जवाफदेही नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्। विद्युत् सेवामा सुधार ल्याउन दबाब दिन जनस्तरबाट आन्दोलनको तयारीसमेत भइरहेको छ।