पंचगावाँ ।  पर्साको धोबिनी गाउँपालिका कार्यालयमा माग गरिएको सूचना नदिएको भन्दै सोमबार दिउँसो स्थानीयवासीले तालाबन्दी गरेका छन्।

स्थानीयहरूले गत आर्थिक वर्षमा गाउँपालिकाले विकास निर्माणका लागि खर्च गरेको विवरण माग गर्दा पालिकाले पूर्ण रूपमा उपलब्ध नगराएको आरोप लगाएका छन्। सूचना अधिकार प्रयोग गर्दै स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले पालिकाबाट प्रमाणित खर्च विवरण माग गरेका थिए। तर मागअनुसार सम्पूर्ण विवरण नआएपछि उनीहरूले सोमबार दिउँसो साढे एघार बजेपछि कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै अलपत्र परेका छन्। यस विषयमा अध्यक्ष चौहानले माग गरिएको सूचना उपलब्ध गराइसकिएको दाबी गर्दै, राजनीतिक पूर्वाग्रहका कारण आफूलाई बदनाम गर्न तालाबन्दी गरिएको टिप्पणी गरे। उनका अनुसार, “सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारी मध्य केही व्यक्तिलाई कार्यालयमा बोलाउँदा पनि वार्तामा नआइ बाहिर हल्ला गरिएको हो।”

अध्यक्ष चौहानले कार्यालयभित्र आफू र कर्मचारीहरू सुरक्षित रहेको बताउँदै सुरक्षा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय पोखरियाबाट सुरक्षाकर्मी खटाइएको जानकारी दिए।

यसैबीच, स्थानीयवासीहरूले गत आर्थिक वर्षमा भएका विकास निर्माणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै निरन्तर प्रदर्शन गरिरहेका छन्।