कलैया, भदौ १७// हालै मात्र सरुवा भई बारामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्रमुख एजेन्डा बनाउने घोषणा गरेका छन्।

पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले प्रशासनलाई जनमैत्री, जिम्मेवार र उत्तरदायी बनाउन सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए।

उनका अनुसार जिल्लाको मुख्य चुनौती राष्ट्रिय परिचयपत्र (एनआईसी) सेवामा आएको अवरोध हो। “माथिल्लो निकायको सर्भर डाउन हुँदा सेवाग्राहीले समस्या भोगिरहेका छन्, तर समाधान खोज्ने प्रयास भइरहेको छ,” पौडेलले बताए।

कर्मचारी अभावबीच पनि छिटोछरितो सेवा दिनेमा जोड दिँदै उनले स्वास्थ्य क्षेत्रका अधिकार स्थानीय तह र प्रदेश सरकारसँग रहेको स्पष्ट पारे। “क्षेत्राधिकारभन्दा बाहिर जाने काम गर्दिनँ, बरु कमजोरी सच्याएर मात्र अघि बढ्छु,” उनको भनाइ थियो।

उनले सुशासनको आधार पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व भएको उल्लेख गर्दै सबै तहबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित अन्य प्रशासनिक अधिकारीहरूको पनि उपस्थिति थियो।