काठमाडौं, भदौ १९ – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अनलाइन टिभी पत्रकार संघ, नेपालले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।

संघका महासचिव पवन प्रसाद फुयालले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै वैकल्पिक व्यवस्था नगरी सामाजिक सञ्जाल बन्द गर्नु नागरिकको सूचना पाउने अधिकारमाथि प्रहार गर्ने कार्य भएको उल्लेख छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु राज्यको दायित्व भएको र यसप्रति सरकारले देखाएको गैरगम्भीरताले संघलाई गहिरो चिन्तामा पारेको विज्ञप्तिमा जनाइएको छ।

संघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहेको तर प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकलाई सूचना पहुँचविहीन बनाउने कुनैपनि कदम अस्वीकार्य हुने स्पष्ट पारेको छ। साथै, सरकारलाई तुरुन्त सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको छ।