पंचगावाँ । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा मलखाद वितरणमा अनियमितता भएको आरोप लगाउँदै स्थानीय किसान, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कृषि सामग्री कम्पनी लि. पर्साका प्रमुख दुर्गा पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन्।

वडा नं. २ मा मलखाद वितरणको जिम्मा पाएको श्री कोडेक कृषि सहकारी संस्थामाथि मृतकको नाममा वितरण देखाएको, पक्षपाती ढंगले नजिकका व्यक्तिलाई बढी मल दिएको तथा अनुगमन टोलीलाई धम्की दिएको आरोप लागेको गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टले जानकारी दिइन्।

अनुसन्धानको क्रममा उक्त संस्थालाई वितरणमा रोक लगाई संघीय सरकारले जारी गरेको “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७” अनुसार बेलमाई कृषि सहकारी संस्थालाई नयाँ जिम्मेवारी दिइएको थियो। तर सहकारीले रकम बुझाइसक्दा पनि मल निकासा नभएको भन्दै किसानले असन्तोष प्रकट गरेका छन्।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रदीप चौधरीले “सरकारले तोकेको नियमअनुसार समितिको निर्णय कार्यान्वयन नगर्नु किसानको अधिकार हनन हो” भन्दै तत्काल समाधानको माग गरे। त्यसैगरी नेकपा एमालेका नेता इनरदेव महतोले ढिलासुस्ती भए आन्दोलनलाई अझ तीव्र बनाइने चेतावनी दिए।

विरोध कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद प्रत्याशी शिवकुमार साह तेली, पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, राप्रपाका देवनारायण चौधरी, कांग्रेसका शैलेन्द्र यादवसहित विभिन्न दलका प्रतिनिधि र स्थानीय किसानहरूको उल्लेख्य उपस्थिति थियो।