पंचगावाँ ।  पर्सा जिल्लाका विभिन्न पालिकामा किसानहरूले लगाएको धानबालीमा रोग र कीराको प्रकोप तीव्र बनेको छ। लामो समयदेखि आकाशे पानी नपर्नु र अस्वाभाविक गर्मीका कारण धानमा मरुवा (धानको गबारो) र ब्लास्ट रोग देखिएको कृषि प्राविधिकहरूले बताएका छन्।

पर्सागढी, बहुदरमाई, पोखरिया, सखुवा प्रसौनी, जिरा भने, जगन्नाथपुर र ठोरी गाउँपालिकासहितका क्षेत्रमा धानका पात डढेको जस्तो पहेंलो देखिनु, गुबा सुक्नु र उत्पादनमा कमी आउने लक्षण देखिएका छन्।

स्थानीय किसान तिलप्रसाद अधिकारीका अनुसार, “धान गजाउने र पसाउने बेलामा कीराको प्रकोप बढेको छ। मलको अभाव, पानीको कमी र विषादीले पनि राम्रो काम नगरेको कारण यस वर्ष उत्पादन घट्ने निश्चित देखिन्छ।”

पर्सागढी नगरपालिकाका कृषि प्राविधिक खड्कबहादुर खत्रीले धानबालीलाई बचाउन प्राविधिक सल्लाहअनुसार विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेका छन्। उनले ट्राइसाकलाजोल, काशु गमाइसिन, बोसिलस थुरिनजेइनसी वा फिप्रोनिल प्रयोग गर्न सुझाव दिँदै, विषादी छर्ने बेला खेतमा कम्तीमा पाँच दिनसम्म पानी जमाएर राख्नुपर्ने बताए।

किसानहरू भने निरन्तरको वर्षा अभाव र कीराको प्रकोपका कारण धान उत्पादनमा ठूलो असर पर्ने चिन्ता व्यक्त गरिरहेका छन्।