काठमाडौं । नेपालमा भदौ २२ गते आइतबार राति खग्रास (पूर्ण) चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ।

समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति ११ः५६ बजे चन्द्रग्रहणको मध्य रहनेछ भने राति ०१ः४१ बजे ग्रहण सकिनेछ। यसरी साढे तीन घण्टासम्म काठमाडौंसहित नेपालभरबाट ग्रहण अवलोकन गर्न सकिनेछ।

यो चन्द्रग्रहण २०८२ सालको पहिलो ग्रहण हो। आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ।

शास्त्रीय मान्यताअनुसार चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ। ग्रहणको अवधिमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन निषेध गर्ने परम्परा रहेको छ। आइतबार दिउँसो १३ः११ बजेपछि सामान्य मानिसहरूले भोजन गर्नु नहुने मान्यता पनि पञ्चांगमा उल्लेख छ।