पंचगावाँ । पर्सा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा चिनिने पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित श्री श्री १०८ बाबा दुदेश्वरनाथ महादेव मन्दिरमा गत आर्थिक वर्ष पर्यटन विकास केन्द्रबाट ५० लाख रुपैयाँको लागतमा रेलिङ तथा अन्य संरचनात्मक निर्माण सम्पन्न गरिएको छ।

निर्माण कार्य समयमै सम्पन्न गरी बिल भरपाई पेस गरे पनि माननीय प्रदेश सभा सदस्य प्रमोद जयसवाल र पर्यटन विकास केन्द्र पर्साकी प्रमुख बबिता जयसवालको मिलेमतोमा कमिसनको चलखेल देखाउँदै बजेट फ्रिज गरिएको निर्माण उपभोक्ता समितिले आरोप लगाएको छ। समितिका अनुसार सबै काम नियमअनुसार सम्पन्न भए पनि बजेट निकासा नगरी समितिलाई चरम आर्थिक दबाबमा पारिएको छ।

उपभोक्ता समितिका अध्यक्ष अलखदेव प्रसाद चौधरीले सापट र ब्याजमा लिएर निर्माण कार्य सम्पन्न गरे पनि रकम रोक्दा समितिलाई ठूलो आर्थिक भार परेको भन्दै तुरुन्त बजेट निकासा गर्न सम्बन्धित निकायलाई अपिल गरे। उनले चेतावनी दिंदै भने, “सम्बन्धित निकायले रकम निकासा नगरेमा हामी पर्यटन विकास केन्द्र अगाडि प्लेकार्डसहित धर्ना, घेराउ तथा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने तयारीमा छौँ।”

मेला समिति सदस्य मनोज यादवले सयौँ वर्ष पुरानो धार्मिक आस्था र विश्वासको केन्द्र रहेको यस मन्दिरमा विकासको नाममा कमिसनको खेल चलाएको भन्दै आक्रोश व्यक्त गरे।

पत्रकार सम्मेलनमा समितिले यो विषयमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसम्म ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष अलखदेव प्रसाद चौधरी सचिव राजेन्द्र बिष्ट कोषाध्यक्ष रामेश्वर चौधरी सदस्य मनोज यादव लगायत सम्पूर्ण को सहभागिता रहेको थियो।

यस विषयमा स्पष्टिकरणका लागि मन्त्री प्रमोद जयसवाल र पर्यटन विकास केन्द्र पर्साकी प्रमुख बबिता जयसवाललाई सम्पर्क गर्दा फोन सम्पर्क हुन नसकेको जनाइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य प्रमोद यादव, बलिराम शुक्ला, प्रकाश तिवारी, प्रतिक दैनिकका सम्पादक विकास शर्मा, घण्टाघर टिभीका सम्पादक राधेश्याम पटेल, अभितक अनलाइन खबरका सम्पादक राजेश मिश्र, ग्रामीण टिभीका सम्पादक विनोद यादवलगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।