पंचगावाँ । । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ औराहाँ पंचगावा चौकमा जितिया पर्वको शुभ अवसरमा यस वर्ष पनी भव्य महाविरी झण्डा मेला तथा दंगल कुस्ती प्रतियोगिता हुने मेला समितिले जनाएको छ। आज गाउँपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न भएको हो।

मेला समिति अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष यादवले जितिया पर्व धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको परम्परागत पर्व हो विगत ९ वर्ष देखि यसलाई निरन्तरता दिदै यश वर्ष भदौ २९ र ३० गते विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने बताए।

उनका अनुसार कार्यक्रममा महिला कलाकारहरूको नृत्य प्रतियोगिता, स्थानीय कलाकारहरूको गितहरु प्रस्तुति हुने र झुलुवा, नाच, खेल, तमासा,साथै स्थानीय उत्पादनका खाद्य सामग्री, तरकारी, घरेलु सामान,दउरी,पथिया, कसमेटिक, मिठाई तथा खेलौनाको स्टलहरू रहनेछन्।

देश–विदेशका नामी पहलवान सहभागी हुने : भदौ ३१ गते नेपाल र भारतका गरि देश–विदेशका नामी पहलवानहरूको विशेष उपस्थितिमा भव्य दंगल तथा कुस्ती प्रतियोगिता हुने भएको छ। प्रतियोगिता निष्पक्ष र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिका र मेला समितिको सहयोगमा कडा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ।

कुस्ती प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने पहलवानलाई क्रमशः ५० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदसहित मेडल तथा अन्य पुरस्कार प्रदान गरिने मेला समिती अध्यक्ष सम्भु यादवले बताएका छन् ।

सहभागीहरूको मन्तव्य :कार्यक्रममा कोषाध्यक्ष प्रेम राउतले मेला तयारीका लागि स्थानीयवासीको सक्रियता उत्साहजनक सहभागीता हुने बताए। सचिव श्याम सर्राफ सोनारले परम्परागत संस्कृति जोगाउन मेलाले ठूलो भूमिका खेल्ने धारणा राखे। उपाध्यक्ष श्याम पटेलले युवापुस्तामा खेलकुद र सांस्कृतिक चेतना जगाउने अवसर मेलाले दिने विश्वास व्यक्त गरे।

सदस्य सन्देश साह, पवन पासवान, भनु पासवान, कृष्ण गुप्ता, मुना अन्सारी लगायत पदाधिकारीहरूले मेलामा सक्रिय सहयोग रहने बताएका छन् ।

पत्रकार सम्मेलनमा संचारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।