काठमाडौँ, ८ भदौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको आन्दोलनमा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री मोहन बहादुर पौडेलको पहलमा जारी सर्कुलरमार्फत आन्दोलनमा घाइते भई अस्पतालमा आउनेलाई कुनै पनि शुल्क नलाग्ने गरी तत्काल उपचारको व्यवस्था गर्न भनिएको हो।

मन्त्रालयले घाइतेलाई समयमै उपचार उपलब्ध गराउन एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ। आवश्यक स्थानहरूमा एम्बुलेन्स सजिलै उपलब्ध हुने व्यवस्था मिलाउन भनिएको छ भने उपत्यकाभित्रको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लैजान सहजीकरण गर्न आह्वान गरिएको छ।

यसैगरी, सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा खटिन मन्त्रालयले आग्रह गरेको छ।