काठमाडौँ, /  राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा सहभागी नागरिकमाथि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको बताएको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र त्यसैबीच प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ।

आयोगका अनुसार माइतीघरबाट सुरु भई बबरमहल हुँदै बानेश्वरतर्फ पुगेका प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको देखिएको छ। सो क्रममा गोली लागी दर्जनभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको आयोगले जनाएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोगले घाइतेहरूको निःशुल्क उपचार तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

“नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार शान्तिपूर्ण ढंगले विमति राख्ने अधिकार नागरिकलाई प्राप्त छ,” विज्ञप्तिमा भनिएको छ, “अतः सरकारले प्रदर्शनमा अत्यधिक बल प्रयोग नगरी जनताका आवाजलाई यथोचित ढंगले सम्बोधन गर्नुपर्छ।” आयोगले मृतकका परिवारलाई तत्काल राहत, क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै, आयोगले प्रदर्शनकारी पक्षलाई समेत शान्तिपूर्ण, मर्यादित र संयमित रूपमा आफ्नो आन्दोलन अघि बढाउन आग्रह गरेको छ।

आयोगको अनुसार, सरकारद्वारा फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी नामक समूहको आह्वानमा काठमाडौँसहित पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्।

आयोगको अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको जानकारी दिँदै प्रवक्ता टीकाराम पोखरेलले सम्पूर्ण अस्पतालमा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरेका छन्।