पर्सा, भदौ २३,: पर्सा जिल्लामा लागूऔषध विरुद्ध जनचेतना जगाउन जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संयुक्त आयोजनामा भव्य र्‍याली सम्पन्न भएको छ।

‘लागूऔषध जीवनको शत्रु हो, नशा होइन शिक्षा हाम्रो मार्ग’, ‘लागूऔषधले विनाश गर्छ भविष्य, लागूऔषध मुक्त समाज हाम्रो पहिचान’ जस्ता सन्देशसहितका प्लेकार्ड र ब्यानर बोकेर बिहान ८ बजेबाट शुरु भएको र्‍याली बीरगञ्ज महानगरपालिका–३२ स्थित मिलनचोकबाट औपचारिक रूपमा सुरु गरिएको थियो। प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, प्रहरी उपरीक्षक गौतम मिश्र र अन्य उच्च अधिकारीहरूले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्दै बेलुन उडाएर र्‍यालीको शुभारम्भ गरेका थिए।

यस र्‍यालीले पर्सागढी नगरपालिकाको सबैया, बडनिहार, मनवा, पटेर्वा सुगौली गाउँपालिकाका रङपुरटाडी, देउरिया, निचुटा, मनिहर्वा, सखुवा प्रसौनी गाउँपालिकाका श्रीपुर पचगामा, जिराभवानी गाउँपालिकाका नौकटोला, सेढवा, जितपुरपरसवा तथा जगन्नाथपुर गाउँपालिकाको सीमाना हुँदै परसवा खेलमैदानमा पुगेर कोणसभा गरेर समापन भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदी, प्रहरी उपरीक्षक मिश्र, सशस्त्र प्रहरीका उपरीक्षक पुरन चन्द भट्ट, विभिन्न गाउँपालिका अध्यक्षहरू, संचारकर्मी, समाजसेवी र स्थानीय जनप्रतिनिधिसहित करिब २०० जना सहभागी भएका थिए।

कोणसभामा प्रमुख जिल्ला अधिकारी सुवेदीले जनचेतना अभिवृद्धि गर्ने कार्यक्रममार्फत समुदायमा सकारात्मक जागरण फैलाउन सकिने र लागूऔषध नियन्त्रणमा प्रहरी मात्र नभई सम्पूर्ण सरोकारवालाको समन्वय आवश्यक रहेको बताउनुभयो। प्रहरी उपरीक्षक गौतम मिश्रले भने, “लागूऔषध सेवनका कारण युवाहरूले चोरी, घरेलु हिंसा, बलात्कार र सडक दुर्घटना जस्ता घातक घटनामा संलग्न हुने गरेका छन्। यसलाई नियन्त्रण गर्न पर्सा प्रहरीले कडाइका साथ कारबाही गर्दै आएको छ, जसका कारण केही हदसम्म लागुऔषध प्रयोगमा कमी आएको छ।”

जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गण्डक नहर र भारतीय सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको अवैध कारोबार बढिरहेको र सवारीसाधनमा नशा सेवनले दुर्घटनाको संख्या बढाएको बताए। उनले सबै सरोकारवालालाई एकजुट भएर यस विरुद्ध अभियानमा लाग्न आग्रह गरे।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको समेत सक्रिय भूमिका रहेको आयोजनाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, “लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन र युवापुस्तालाई स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्न आजको र्‍याली र कोणसभा आयोजना गरिएको हो।”

यसैगरी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साको ग्रामीण भेगमा आज सम्पन्न जनचेतनामूलक र्‍यालीमा स्थानीयवासी, विद्यार्थी, सामाजिक संघसंस्था, भद्रभलादमी र सुरक्षाकर्मीहरूको समेत सक्रीय सहभागिता रहेको थियो। सहभागीहरूले “लागूऔषध प्रयोग नगरौं, स्वस्थ जीवन अपनाऔं”, “लागूऔषध मुक्त समाज हाम्रो प्रतिबद्धता” लगायतका नारासहित सचेतनामूलक प्लेकार्ड बोकेर समुदायमा जागरुकता फैलाउन प्रयास गरे।

आयोजकहरूका अनुसार यस प्रकारका कार्यक्रमले युवापुस्तामा लागुऔषधको हानिकारक प्रभावप्रति सचेत गराउने, अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने र समग्रमा स्वस्थ र सशक्त समाज निर्माणमा समुदायलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।