काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक र कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो बनाउन तथा सामाजिक सञ्जालमा पोस्ट गर्न निषेध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको हेलो सरकारमार्फत शिक्षक र कर्मचारीले विद्यालय समयमै पोशाकधारी अवस्थामै टिकटक भिडियो बनाई सार्वजनिक गर्ने गरेको गुनासो प्राप्त भएको उल्लेख गरेको छ ।

यसरी तयार गरिएका भिडियो र सामग्रीले विद्यार्थीको बाल मनोविज्ञानमा प्रत्यक्ष असर गर्ने भन्दै मन्त्रालयले यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई आचारसंहिता पालनासहित शैक्षिक वातावरणलाई मर्यादित बनाउन आग्रह गरेको छ ।