काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको मंगलबार अनुगमन गरेका छन् । भाद्र २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सो कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले निजी तथा सार्वजनिक सम्पत्ति जलाउनु गलत काम भएको बताए । उनले देशलाई नष्ट पार्ने गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिँदै भौतिक संरचना मात्र नभई समाजको आचरण र प्रणालीको पनि पुनर्निर्माण आवश्यक रहेको बताए ।

उनले भने, “हामी नेपाली हौं, यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था आए पनि हामीले व्यहोर्नै पर्छ । सबैको उद्देश्य एउटै हो — देशलाई बचाउने । त्यसैले अब धैर्य राख्नुपर्छ र देशलाई नष्ट पार्ने काम कसैले पनि गर्नु हुँदैन।”

मन्त्री अर्यालले स्टेकहोल्डरहरूसँग परामर्श गरेर ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माण कार्य अघि बढाइने जानकारी समेत दिए ।