पर्सा, ३१ भदौ :, पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित पंचगावाँ चौकमा जितिया पर्वको अवसरमा परम्परागत महाविरी झन्डा मेला तथा कुस्ती दंगल भव्य रूपमा सम्पन्न भएको छ। भदौ २९ गतेदेखि ३१ गतेसम्म तीन दिनसम्म चलेको यस मेलामा विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिएका थिए।

मेलामा भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, जनचेतनामूलक नाटक, खेल–तमासा, झुलुवा लगायतका कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। साथै, मेलाको आकर्षण थप गर्न स्थानीय सामग्री, हस्तकला तथा खाजाका स्टलहरू पनि राखिएको थियो, जसले हजारौँ दर्शक तथा श्रद्धालुहरूलाई आकर्षित गर्‍यो।

नेपाल–भारतबीच रोमाञ्चक कुस्ती प्रतिस्पर्धा मेलाको मुख्य आकर्षणको रूपमा रहेको कुस्ती दंगलमा नेपाल र भारतका चर्चित तथा निपुण पहलवानहरूले सहभागिता जनाएका थिए। नेपालतर्फबाट वसन्त थापा, पारस थापा, हरिहर थापा, बलिराम यादव, बिनोद यादव, सुनिल साह र बागड यादव लगायतका पहलवानहरू उपस्थित थिए।

भारतको तर्फबाट शेरे पञ्जाब, प्रदीप शास्त्री, जादौ खलिफा लगायतका नाम चलेका पहलवानहरूले प्रतिस्पर्धा गरेका थिए। विशेष आकर्षणको रूपमा भारत हरियाणाका प्रदीप शास्त्रीले ट्याक्टरसँग कुस्ती गर्दै ट्याक्टर तान्ने, र ट्याक्टर आफ्नो शरीरमाथि चलाउने अद्भुत कौशल प्रस्तुत गरे। उनको साहसिक खेलले दर्शकहरूलाई चकित तुल्याएको थियो।

विजेताहरूलाई नगद पुरस्कार वितरण मेलामा उत्कृष्ट प्रदर्शन गर्ने पहलवानहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार वितरण गरिएको थियो। कुल करिब दुई लाख रुपैयाँ बराबरको पुरस्कार राशी खर्च गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष शम्भु यादवले जानकारी दिनुभयो।

स्थानीय नेतृत्व र जनसमुदायको सक्रिय सहभागिता कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जसवन्त यादवले पुस्तौँदेखि चल्दै आएको परम्परागत संस्कृति र खेलहरूलाई संरक्षण गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “खेलकुदले युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा ठूलो टेवा पुर्‍याउँछ।”

त्यस्तै वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य प्रमोद यादव, दीप नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारु लगायत अन्य अतिथिहरूले मेलालाई संस्कृति, पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा वर्णन गरेका थिए।

सांस्कृतिक समृद्धिको दर्पण पंचगावाँको महाविरी झन्डा मेला केवल मनोरञ्जन र खेलकुदको केन्द्र मात्र नभई, स्थानीय कला, संस्कृति र सामुदायिक भावनाको अभिव्यक्तिको एउटा महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुँदै आएको छ। मेलामा सहभागी भएका स्थानीय बासिन्दाहरूले मेलालाई गौरवको पर्वका रूपमा लिएका छन्।