पर्सा, असोज १ / असोज १ गते पर्साका ग्रामीण क्षेत्रहरूमा धानबालीलाई आवश्यक पर्ने युरिया मल अभाव भएपछि किसानहरू गम्भीर समस्यामा परेका छन्। धानमा बाला लाग्ने बेला पुगेको हुँदा तेस्रो पटक मल छर्ने तयारीमा रहेका थरुहट क्षेत्रका किसान र दोस्रो पटक मल हाल्नुपर्ने बझियान क्षेत्रका किसानहरू अहिले मल अभावकै कारण मर्कामा छन्।

धान रोपाइँका क्रममा किसानहरूले युरिया, डिएपी र पोटास प्रयोग गर्ने चलन रहेको छ। रोपाइँ सकिएको झन्डै दुई महिनापछि दोस्रोपटक र त्यसपछिका तेस्रोपटक युरिया मल हालिन्छ। तर, असार मसान्तमै रोपाइँ सकेका थरुहट क्षेत्रका किसान अहिले अन्तिम पटक मल हाल्ने चरणमा छन् भने सिँचाइको कमीले ढिलो गरी रोपाइँ गरेका बझियानतर्फका किसान दोस्रो चरणको मल हाल्दै छन्। युरिया मलको अभावले कृषकहरूलाई आर्थिक संकटमा पारेको छ।

पोखरिया नगरपालिकाका किसान रामाकान्त महतो नुनियाले मल पाउन निकै कठिन भएको बताए। “सहकारीमा युरिया छैन, बाध्य भएर कालोबजारीमै महँगोमा किन्नुपरेको छ,” उनले दुखेसो पोखे। सामान्य अवस्थामा प्रतिकिलो १७ रुपैयाँ पर्ने युरिया अहिले ६० देखि ७० रुपैयाँमा मात्र पाइरहेको उनले बताए।

जीराभवानी गाउँपालिका–२ का नन्दकिशोर चौधरीले पनि सहकारीमा मल नपाएर स्थानीय दलालमार्फत मात्रै पाउन सकिएको बताए। “भारततर्फको सीमा बन्द भएकाले त्यहाँबाट पनि सहजै ल्याउन सकिएको छैन,” उनले जानकारी दिए।

कृषि सहकारीका सञ्चालकहरूका अनुसार, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट युरिया उपलब्ध नभएको र त्यसको सट्टा डिएपी मात्र पठाइरहेको बताएका छन्। “किसानहरू ठूलो अपेक्षा लिएर मल लिन आउँछन् तर युरिया नपाउँदा निराश भएर फर्किन्छन्,” उनीहरूले जानकारी दिए।

धान खेतीलाई मुल आधार मानेर जीविकोपार्जन गर्ने किसानहरूलाई समयमा मल नपाइरहँदा उत्पादन घट्ने खतरा देखिएको छ। किसानहरू भन्छन्, “कृषि प्रधान देश भनिए पनि मलजस्तो आधारभूत आवश्यकतामा यस्तो अभाव हुनु लाजमर्दो हो।” समयमै आवश्यक मल नपाइए कृषि उत्पादन घट्न सक्छ भन्ने चिन्ता किसानहरूमा छ/

सरकार र सम्बन्धित निकायले यथाशिघ्र मल आपूर्ति सुनिश्चित गर्दै किसानहरूलाई आवश्यक सहयोग पुगाउने अपेक्षा किसानहरूले व्यक्त गरेका छन्। अन्यथा आगामी समयमा खाद्यान्न संकट समेत देखिन सक्ने आशंका व्यक्त गरिएको छ।