काठमाडौं । स्थगित भएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ मिति तोकिएको छ। यसअघि भदौ २८ र २९ गते सञ्चालन हुने भनिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब मौका परीक्षा असोज ७ र ८ गते हुनेछ।

असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। सोही दिन एक मात्र विषय दिने विद्यार्थीका लागि सबै विषयको परीक्षा हुनेछ भने दुई विषय दिने विद्यार्थीका लागि आफूले दिने विषयहरुमध्ये सानो कोड भएको विषयको परीक्षा हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। तर यस दिन अनिवार्य अंग्रेजीको परीक्षा नहुने स्पष्ट गरिएको छ। अंग्रेजी विषयको परीक्षा पहिलो दिन अर्थात असोज ७ गते नै हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।