वीरगंज, ३ असोज/ पर्साका १४ वटा पालिकामध्ये पाँचवटा पालिकाबाहेक नौवटा पालिकाका कर्मचारीहरू यस वर्षको दशैंमा तलबभत्तालगायत अन्य सेवासुविधा पाउनबाट वञ्चित हुने भएका छन् ।

१४ पालिकामध्ये अहिलेसम्म छिपहरमाई, पोखरिया, पर्सागढी, विन्ध्यवासिनी र पटेर्वासुगौली गाउँपालिकाले आआफ्‌ना खाता सञ्चालनमा ल्याएका छन् ।

बाँकी नौवटा पालिकाले परिषद् सम्पन्न गरे पनि आआफ्‌ना बजेट सूत्रमा प्रविष्ट नगरेका कारण खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ।

खाता सञ्चालनमा नआएपछि कर्मचारीहरूलाई तलबभत्तालगायत अन्य सेवासुविधा भुक्तानी गर्न मिल्ने भएपछि ती पालिकाका कर्मचारीहरूमा चिन्ता छाएको छ ।

धोबिनी तथा पकहामैनपुर गाउँपालिकामा अहिलेसम्म बजेटसमेत पारित भएको छैन। त्यहाँ अहिलेसम्म विवाद छ । धोबिनी गापाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बजेट हिनामिना गरेको भन्दै रौनियारले गत आर्थिक वर्षको हिसाब नबुझाएसम्म यस आवको बजेट सार्वजनिक गर्ने कार्य रोकिरहने कार्यपालिका सदस्य दिनानाथ कलवारले जानकारी गराए ।

अहिले सो पालिकामा नयाँ प्रमुख कार्यकारी अधिकृत आएका छन् । नयाँ प्रप्रअ कृष्ण खतिवडाले चाँडै नै बजेट सार्वजनिक गरी गापाका सेवाहरू सुचारु गर्न प्रयासरत रहेको बताए । तर बजेट पारित सम्बन्धमा जनप्रतिनिधिहरूबीच सहमति जुट्न भने सकेको छैन ।

वडा नं ४ का अध्यक्ष अब्बास मियाँ चुडिहारका अनुसार बजेट चाँडै पारित हुनेगरी कार्य भइरहेको बताए। दशैं जस्तो ठूलो पर्वमा कर्मचारीहरूलाई तलबभत्ता भुक्तानी गर्न नसक्दा कर्मचारीहरू आन्दोलन गर्ने तरखरमा रहेकाले आफूहरूले १/२ दिनमा सहमति जुटाएर बजेट सार्वजनिक गर्ने उनले दाबी गरे ।

केही पालिकाहरूमा बजेट पारित भएपनि प्रप्रअहरूले सरुवाको माग गर्दै मन्त्रालयमा निवेदन दर्ता गराएका कारण उनीहरू गापामा नआउने तथा बेवास्ता गरेपछि बजेट सूत्रमा प्रविष्ट गर्ने कार्य रोकिएको छ । जेन-जी आन्दोलनपछि अवस्था फेरिएकोले प्रप्रअहरूको सरुवा पनि अन्योलमा रहेको छ ।

जेन-जी आन्दोलनमा वीरगंज महानगर कार्यालयलगायत वडा कार्यालयहरूमा तोडफोड तथा आगजनीका कारण सोको पुनर्निर्माणका लागि बजेट संशोधन गर्नुपर्ने भएकोले चाँडै खाता सञ्चालनमा आउने एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार महानगरका कर्मचारीहरूले दशैंमा तलबभत्ता पाउन सक्नेछन् ।