३ असोज, काठमाडौं : ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय पुनर्निर्माण र समृद्धिको यात्रामा सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

उज्यालो नेपाल अभियान’ का अगुवा समेत रहेका मन्त्री घिसिङले हालैको जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका संरचनाहरू पुनः निर्माण गर्दै नेपाललाई अघि बढाउने साझा अभियानमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हातेमालो गर्न आह्वान गरे।

उनका अनुसार आन्दोलनका कारण करिब दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। उनले यस्तो क्षति पुनःस्थापनाका लागि “नेपालको पूर्वाधार हामी आफैं बनाउँछौं” भन्ने नाराका साथ देशव्यापी रूपमा पुनर्निर्माण अभियान सञ्चालन गरिने जानकारी दिए।

यस प्रयोजनका लागि श्रमदान र आर्थिक सहयोगलाई आधार मानेर एक विशेष कोष स्थापना गरिएको छ। विदेशमा रहेका नेपालीहरूको सहभागिता विशेष रूपमा आवश्यक रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सबै प्रवासी नेपालीहरूलाई देश निर्माणको अभियानमा हातेमालो गर्न आग्रह गरे।

त्यसैगरी, विदेशस्थित नेपालीहरूका मताधिकार, नागरिकता र भिसासम्बन्धी समस्याहरू समाधान गर्न वर्तमान सरकारले गम्भीर प्रयास गरिरहेको उनले जानकारी दिए। साथै, उनले प्रधानमन्त्रीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको पनि बताए।