सिमरा ३ असोज, — पछिल्लो तीन noमहिनामा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि शुक्रबार बिहान पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको आधाभार जंगलबाट एक बाघलाई नियन्त्रणमा लिइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल (ZSL) को संयुक्त विज्ञ टोलीले डार्टिङ विधिबाट बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको बाघलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित निकुञ्ज कार्यालयको सुरक्षित खोरमा राखिएको जानकारी वडाध्यक्ष सुवास श्रेष्ठले दिएका छन्।

बाघको आक्रमण श्रृंखलाबद्ध रूपमा दोहोरिन थालेपछि स्थानीयवासी त्रसित भएका थिए। मृतक परिवार र स्थानीयबासीको निरन्तर आग्रहपछि सुरक्षा निकाय, वन कर्मचारी, जनप्रतिनिधि र बाघ नियन्त्रणमा विशेषज्ञ टोली हात्ती चढेर जंगल प्रवेश गरेका थिए। त्यसक्रममा बाघ देखिएपछि टोलीले त्यसलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो।

तीन महिनामा तीनको मृत्यु

बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिकामा असार र भदौ महिनामा तीन जनाले ज्यान गुमाएका थिए। असारमा वडा नम्बर १ का ६० वर्षीय छेवाङ लामा, त्यसपछि भदौमा वडा नम्बर २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र वडा नम्बर २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन बाघको आक्रमणमा परेका थिए।

घटनापछि स्थानीयबासीको दैनिकी त्रासमै बितिरहेको थियो। बाघ नियन्त्रणको माग गर्दै विभिन्न चरणमा दबाब पनि दिइएको थियो।

अब नियन्त्रणमा लिइएको बाघलाई दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा निकुञ्ज, विज्ञ टोली र सम्बन्धित निकायबीच छलफल भइरहेको जनाइएको छ।