जनकपुर । मधेश प्रदेश सरकारले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवारलाई थप राहतस्वरूप प्रतिपरिवार दुई लाख पचास हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा शहादत प्राप्त गरेका मधेश प्रदेशका स्थायी बासिन्दा शहीदहरूलाई सम्मानपूर्वक सम्झना गर्दै परिवारलाई राहत रकम वितरण गर्ने निर्णय गरेको हो।

निर्णयमा आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारले गम्भीर रहने उल्लेख गरिएको छ। त्यस्तै, आन्दोलनका क्रममा भएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै सहानुभूति प्रकट गरिएको छ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र क्षति गर्ने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकमा युवापुस्ताले अघि सारेका सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मागहरूको समाधान संविधानकै दायराभित्र रहेर खोजिनुपर्नेमा जोड दिइएको छ।

प्रदेश सरकारले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण आन्दोलनको रक्षा गर्न सबै पक्ष सचेत रहन आग्रहसमेत गरेको छ।