दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ।

सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कार्कीले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा बिहीबार सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले पक्राउ परेका लेखा अधिकृतमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।