पंचगावाँ ।  भूमि समस्या समाधान आयोगले पर्सा जिल्लाबाट भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई लालपूर्जा (जग्गाधनी प्रमाणपत्र) वितरणको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। शनिबार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलमा आयोजित समारोहमा पहिलो चरणमा ४४ परिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको हो। आयोगका अध्यक्ष तबरेज अहमद र गाउँपालिका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरे। सथवलमा करिब ६ दशकदेखि लालपूर्जाविहीन बसोबास गर्दै आएका स्थानीयले पहिलोपटक आफ्नै नाममा जमिनको प्रमाणपत्र पाएपछि गाउँभर उत्साह छाएको छ।

आयोग अध्यक्ष अहमदका अनुसार मधेस प्रदेशमै लालपूर्जा वितरणको सुरुवात पर्साबाट गरिएको हो। दशैंपछि ठोरी गाउँपालिका–४ का १,१९७ जनालाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए। उनका अनुसार पर्सा जिल्लाभर ५,१७८ जनालाई लालपूर्जा वितरण गर्ने लक्ष्य छ, जसमा वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनीका बासिन्दा पर्छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण संकलनपछि वडा र पालिकाले प्रमाणीकरण गरी आयोगमा पठाएको थियो। आयोगले ३५ दिने सूचना प्रकाशित गरेर नापजाँच गराई प्रतिवेदनको आधारमा लालपूर्जा वितरणका लागि सिफारिस गरेको हो।

अध्यक्ष अहमदले भने, “मैले कार्यभार सम्हालेपछि आफ्नै कार्यकालमा पूर्जा वितरण गर्ने वाचा गरेको थिएँ। आज त्यो सपना पुरा भएको छ। यो मेरो जीवनकै सबैभन्दा खुशीको क्षण हो।” उनले बाँकी रहेका ५,१३४ जनालाई पनि चाँडै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने, “दशैंभन्दा ठूलो पर्व आज भएको छ। मेरो पालिकामा भएको सबैभन्दा ठूलो विकास आजको लालपूर्जा वितरण हो। बाँकी २० महिनाको कार्यकालमा यहाँका सबै भूमिहीनलाई पूर्जाविहीन अवस्थाबाट मुक्त बनाइनेछ।”

सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महत्तो थारु, आयोगका विज्ञ सदस्य सन्तोष पासवानलगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।