काठमाडौं । ‘सेवा नै धर्म हो, एकता नै बल हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको सामाजिक संस्था प्रशंसा संरक्षण समूहको अध्यक्षमा हरि प्रसाद अवस्थी निर्वाचित भएका छन् ।

सोमबार काठमाडौंमा सम्पन्न संस्थाको २७औँ साधारण सभाले अवस्थीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष मोहनसिंह एतवाल, महासचिव श्याम ओझा, सचिव डम्बर कुमारी रेग्मी र कोषाध्यक्ष कमला भट्ट पोखरेल चयन भएका छन् । सदस्यहरूमा डा. लक्ष्मीराज पाठक, हरिमोहन भण्डारी, रमेश भट्ट, ज्वाला बिष्ट र भुवनेश्वरी भण्डारी रहेका छन् ।

निर्वाचन समितिका सदस्य उद्धव बोगटीका अनुसार निवर्तमान अध्यक्ष नयाँ कार्यसमितिमा दोस्रो बरियतामा रहने व्यवस्था गरिएको छ । नेत्रबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिबाट चुनाव सम्पन्न भएको थियो ।

साधारण सभामा अध्यक्ष अवस्थीले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बिशेश्वरी उप्रेतीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

त्यस अवसरमा संस्थापक अध्यक्ष अम्बादत्त भट्टले टीकाराम भट्ट, नेत्रबहादुर शाही, तिलक भट्ट, चन्द्रकान्त पण्डित, इन्दु भट्ट, ललिता ठकुल्ला, भागरथी बिष्ट र बसन्ती भट्टलाई नयाँ सदस्यका रूपमा स्वागत गरेका थिए । संस्थाको नियमअनुसार कम्तीमा दुई वर्ष सक्रिय रूपमा काम गरेका व्यक्तिलाई मात्र सदस्यता प्रदान गरिन्छ ।

वि.स. २०५५ मा स्थापना भएको प्रशंसा संरक्षण समूहले प्रकृति, संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्दै सुदूरपश्चिमको सांस्कृतिक उत्थानमा योगदान दिँदै आएको छ । यसले काठमाडौंको खुलामञ्चमा गौरा पर्वलाई सार्वजनिक रूपमा भव्य रूपमा आयोजना गर्दै विविध समुदायलाई आफ्नो चाडपर्व साझा रूपमा मनाउन प्रेरित गर्ने गरेको छ ।