वीरगन्ज, ९ असोज। पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ गोली चल्दा एक किशोर घाइते भएका छन्।

घाइते हुनेमा भिस्वाका करिब १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्। उनको तिघ्रामा गोली लागेको र हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाउँपालिका कार्यालय पछाडिको सडकमा दुई समूहबीच विवाद हुँदा गोली प्रहार भएको हो। तर, कसले र किन गोली हानेको भन्ने विषयमा भने यकिन नभएको पर्सा प्रहरीले बताएका छन्। ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले घटनाको पुष्टि गर्दै घाइते आलमको अवस्था खतरामुक्त रहेको जानकारी दिए। गोली प्रहारमा संलग्नको पहिचान र खोजी जारी रहेको उनले बताए।

घटनास्थलमा भिष्वा प्रहरी चौकी इलाका प्रहरी कार्यालय पोखरिया सशस्त्र प्रहरी बीओपी भिष्वा सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका थिए।