जनकपुरधाम — दशैं मेलाको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिर प्रांगणमा झुला भाँचिँदा ठूलो दुर्घटनाको जोखिम टरेको छ। शुक्रवारी साँझ भएको घटनामा झुला भाँचिँदा फसेका ५६ जनालाई करिब चार घण्टापछि सकुशल उद्धार गरिएको हो।

मेलामा सहभागी बालबालिका, महिला र पुरुषसहितका मानिस झुलामा चढेका बेला झुला अचानक बीचबाटै भाँचिएको थियो। घटना भएपछि मेला क्षेत्रमै हाहाकार मच्चिएको थियो।

नेपाली सेनाको विशेष टोलीले बारुण यन्त्र र क्रेनको सहयोगमा फसेका सबैलाई सुरक्षित रूपमा झार्न सफल भएको हो। उद्धारमा संलग्न एक अधिकारीले भने, “क्रेनको सहायताले मानिसहरूलाई सुरक्षित रूपमा झारियो।”

स्थानीयले झुलामा अत्यधिक भार परेकै कारण बीचमै भाँचिएको हुन सक्ने आशंका गरेका छन्।

स्थानीय शोभाकान्त पाण्डेले भविष्यमा मेलामा प्रयोग हुने उपकरणप्रति प्राविधिक सतर्कता आवश्यक रहेको बताए। उनले भने, “सर्वसाधारणको ज्यानसँग खेलवाड हुने खालका उपकरणको प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्छ, यसपटक ठूलो दुर्घटनाबाट जोगिनु राहतको कुरा हो।”

घटनापछि स्थानीय प्रशासनले मेलामा प्रयोग भइरहेका अन्य झुला तथा मनोरञ्जन सामग्रीको तत्काल सुरक्षा समीक्षा गर्ने तयारी गरेको जनाएको छ।