काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँको अवसरमा समेत शिक्षकलाई तलब निकासा नगर्ने विद्यालय तथा पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले शिक्षा मन्त्रालयले आवश्यक तलब भुक्तानीका लागि रकम विद्यालय र स्थानीय तहमा पठाइसकेको जानकारी दिँदै भने, “दसैँ–तिहारको अवसरमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको भनेर धेरै गुनासो आएको छ। भोलिसम्ममा तलब नपाएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।”

त्यस्तै उनले पालिकाहरूलाई पनि तलब रोक्न नहुने चेतावनी दिएका छन्। “शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। यदि भोलिसम्म कुनै नाजायज र अन्यायपूर्ण तरिकाले शिक्षकले तलब नपाएमा त्यस पालिकामाथि पनि कारबाही हुनेछ,” मन्त्री पुनले बताएका छन्।

शिक्षक संघ–संस्थाहरूले पनि दशैँअघि नै तलब उपलब्ध गराउन सरकारसँग माग गर्दै आएका छन्।