वीरगञ्ज — चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने आकलन गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि लागू भएको योजनाअनुसार जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको छ।

प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मुख्य बजार, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि छुट्टै टोली खटाइएको छ। चोरी, लुटपाट, गुण्डागर्दी नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

कुनै घटना भए १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको र क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ।

भारतसँगको खुला सीमाका कारण हतियारको दुरुपयोग, चोरी, लुटपाट र सीमा अपराधको जोखिम उच्च रहेकाले निगरानीका लागि सिसिटिभी, शंकास्पद व्यक्तिको अनुगमन र सूचना संकलनलाई प्राथमिकता दिइएको छ।

एसपी पाठकले जेन-जी आन्दोलनको नाममा अपराध गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिँदै भने, “कानुन उल्लङ्घन गर्ने कसैलाई छुट दिइने छैन, आवश्यक परे मेरो जागिर जाओस्, अपराधीलाई कानुनी कठघरामा उभ्याइन्छ।”

प्रहरीले कुनै पनि आपराधिक गतिविधि देख्नासाथ तत्काल १०० नम्बरमा जानकारी दिन नागरिकलाई आग्रह गरेको छ।