च्युच्वान — चीनले शनिबार बिहान नयाँ भू–उपग्रह ‘फेंग्युन-३-०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३:२८ बजे (बेइजिङ समय) ‘लङ्ग मार्च-४सी’ प्रक्षेपण यानमार्फत पठाइएको उक्त उपग्रह निर्धारित कक्षमा प्रवेश गरेको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले जानकारी दिएको छ।

उपग्रहको उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण तथा जलवायु परिवर्तनको निगरानी गर्ने रहेको छ। यसमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्र जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक (इमेजर) पनि छन्।

सीएनएसएका अनुसार यस प्रक्षेपणसँगै चीनको विश्वव्यापी सङ्ख्यात्मक मौसम पूर्वानुमान क्षमता, जलवायु परिवर्तनसम्बन्धी तयारी तथा प्राकृतिक विपद् रोकथाम र न्यूनीकरण क्षमतामा वृद्धि हुने भएको छ।

यो प्रक्षेपण ‘लङ्ग मार्च’ शृङ्खलाको ५९६औं सफल मिशन बनेको छ।