काठमाडौँ — प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता र मतदानको सहज व्यवस्था मिलाउन गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।

अमेरिकास्थित नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्रीसँग भेटेर हालको प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागी हुन हतोत्साहित गर्न सक्ने भन्दै सुधारको माग गरेका छन्। उनीहरूले विदेशी नम्बर वा इमेलमार्फत ओटीपी उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिएका छन्।

अभियन्ताले अमेरिकामा रहेका नेपालीहरूले तीन कन्सुलेट कार्यालय र एउटा दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने पनि उल्लेख गरेका छन्। ज्ञापनपत्रमा एनआरएनए र नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने र मतदाता दर्ता अभियानमा सहयोगी भूमिका खेल्ने प्रतिवद्धता पनि समेटिएको छ।

भट्टले भने, “विदेशमा रहेका लाखौँ नेपालीलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्नु अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो।”