काठमाडौं — नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरी देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सबै सुरक्षा युनिटले विशेष सुरक्षा योजना तयार गरी लागू गरिसकेको छ। उनले भने, “भयरहित वातावरणमा चाडपर्व मनाउन अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको व्यवस्था मिलाइएको छ। सम्भावित जोखिम क्षेत्र पहिचान गरी निगरानी बढाइएको छ।”

घिमिरेका अनुसार आवश्यकता अनुसार ड्रोन, तालिमप्राप्त कुकुर र सादा पोसाकका प्रहरी परिचालन गरिनेछ। काठमाडौं उपत्यकामा मात्रै ६ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएका छन्। आवश्यक परे थप जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

प्रहरीका अनुसार चाडपर्वमा सवारीसाधनको सहज आवागमन, भीडभाड हुने मेलामेला तथा जमघटमा होहल्ला, मदिराजन्य झगडा, चोरी–तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइनेछ। त्यस्तै कालोबजारी र तोकिएभन्दा बढी भाडा लिने कार्यको पनि निगरानी गरिने प्रहरीले जनाएको छ।