सिरहा — सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले ४५ वर्षीय ओमप्रकाश साहलाई लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर जाँच गरेको थियो। जाँचको क्रममा उनको साथबाट उक्त नगद रकम फेला परेको हो।

सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साहले रकमको वैध स्रोत प्रस्तुत गर्न सकेनन्। प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशंका गरेको छ।

सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न निगरानी र सक्रियता बढाइएको छ। पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ।