पर्सा — सूर्य नेपालले वीरगन्ज महानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्प्युटर, ल्यापटप र प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ।

भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। यस घटनापछि दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो।

सूर्य नेपालले सामाजिक उत्तरदायित्वअनुसार दुई थान कम्प्युटर सेट (यूपीएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो। महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा कार्यालयलाई पुनःसञ्चालन गर्न सहयोग महत्त्वपूर्ण भएको बताए।

सूर्य नेपालका प्रभाकरविक्रम शाह र उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठले समस्याको घडीमा सहयोग गर्न आफूहरू तत्पर रहेको र सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन्।