उत्तर प्रदेशको बरेलीमा सुरु भएको ‘आई लव मोहम्मद’ अभियानलाई लिएर बाराबंकी, मऊ र वाराणसीसम्म तनाव फैलिएको छ। अवस्था नियन्त्रणमा राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाउँदै ठूलो संख्यामा सुरक्षा बल तैनात गरेको छ।

बरेलीमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म घर–घर तलासी अभियान चलाइएपछि ३६ जना नियन्त्रणमा लिइएका छन्। इत्तेहाद–ए–मिल्लत काउन्सिलका अध्यक्ष मौलाना तौकीर रजा सहित आठ जनालाई माहोल बिगारेको आरोपमा पक्राउ गरी जेल पठाइएको छ। बरेलीका विभिन्न थानामा हालसम्म ६ मुद्दा दर्ता भएका छन्।

वाराणसीको सिगरा क्षेत्रमा अनुमति बिना जुलुस निकालेर पोस्टर–ब्यानर लगाउने क्रममा साम्प्रदायिक सौहार्द बिगारेको आरोपमा आठ जना पक्राउ परेका छन् भने एक बालकलाई समेत नियन्त्रणमा लिइएको छ।

त्यस्तै, बाराबंकीको फैजुल्लागञ्ज गाउँमा ‘आई लव मोहम्मद’ लेखिएको ब्यानर तोडफोड भएपछि तनाव बढेको छ। यहाँ ठूलो संख्यामा प्रहरी खटाइएको छ।

यसैबीच, मुजफ्फरनगर र मऊमा आपत्तिजनक स्टिकर र पर्चा टाँस्ने आरोपमा कम्तीमा पाँच जना पक्राउ परेका छन्। प्रहरीले घटनालाई साम्प्रदायिक अशान्ति भडकाउने प्रयास भन्दै थप कारबाही अघि बढाइरहेको जनाएको छ।