तमिलनाडुको करूरमा टीभीके प्रमुख तथा अभिनेता विजयको रैलीमा मचेको भगदडमा ३६ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये ८ बालबालिका र १६ महिला रहेका छन् भने ७० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि तिरुचिरापल्ली र सलेमबाट ४० भन्दा बढी चिकित्सक परिचालन गरिएको छ।

घटनापछि विजयले आफ्नो पहिलो सार्वजनिक वक्तव्य जारी गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भने, “मनोबल भाँचिएको छ। यो असहनीय पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। करूरमा ज्यान गुमाउने मेरा प्रिय दाजुभाइ र दिदीबहिनीहरूका परिवारप्रति संवेदना व्यक्त गर्दछु। घाइतेहरू चाँडै स्वास्थ्य लाभ होऊन् भन्ने प्रार्थना गर्दछु।”

प्रहरीले रैलीमा १० हजार जनालाई मात्र अनुमति दिएको भए पनि हजारौं समर्थक पुगेपछि अराजक स्थिति बनेको थियो। विजय करिब ६ घण्टा ढिलो पुग्दा भीड अझै असन्तुलित बनेको र उनले भाषण सुरु गर्नासाथ भीडले बार तोड्दै अगाडि बढ्दा भगदड भएको बताइएको छ।

विजयलाई भाषण बीचमै रोक्नु पर्‍यो र बेहोस भएका मानिसलाई सहायता गर्न आफ्नो प्रचार बसको छतबाट पानीका बोतलहरू फ्याँक्नुपर्‍यो। धेरैलाई तत्काल अस्पताल पुर्‍याइए पनि कैयौंको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।