पंचगावाँ ।  जिल्ला पर्सा पर्सागढी नगरपालिका–५ चिम्नी भट्टा नजिक इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८२ असोज १० गते राति करिब ९ बजे (२१:००) तिर प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले बहुअर्वा बाट डकैला तर्फ जाँदै गरेको ना.५४ प ६३१४ नम्बरको मोटरसाइकललाई नियन्त्रण गर्ने क्रममा उक्त सवारीसाधन चालक प्रहरीले देखेपछि मोटरसाइकल र साथमा रहेका दुईवटा सेतो बोरा स्थलमै छोडी फरार भएको जनाएको छ।

प्रहरी टोलीले तत्काल घटनास्थलमै बोराहरू खोलेर जाँच गर्दा, तिनीहरूमा कालो–सेतो रंगको प्लास्टिकमा प्याक गरिएको करिब २० किलोग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ।

बरामद गरिएको मोटरसाइकल र लागुऔषधसहितको सामान इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।