बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला गरिएको छ । जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले मंगलबार विज्ञप्ति जारी गर्दै ताङलाई झण्डै दुई अर्ब ६८ करोड युआन बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको जनाएको हो ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म निरन्तर घुस लिँदै आएका थिए । उनले अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको अदालतले उल्लेख गरेको छ ।

यो फैसला राष्ट्रपति सी जिनपिङले अघि बढाएको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गत आएको हो । समर्थकहरूले यसलाई स्वच्छ शासनतर्फको ठुलो कदम भनेका छन् भने आलोचकहरूले भने यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कमजोर पार्ने औजारका रूपमा चित्रण गरेका छन् ।