पंचगावाँ । बडा दसैंको आज सतौं दिन अर्थात् सप्तमी (फुलपाती) पर्व देशभर धार्मिक उत्साहका साथ मनाइँदैछ। यस अवसरमा पर्सा जिल्लाका विभिन्न स्थानमा माता रानीको जयघोषसहित डोला (झाँकी) निकाल्ने परम्परा आज पनि उत्साहपूर्वक पालना गरिएको छ।

पर्सा जिल्लाको सदरमुकाम वीरगंज लगायत ग्रामीण क्षेत्रहरू — सखुवा प्रसौनी, पटेर्वा सुगौली, पर्सागढी, ठोरी, कालिकामाई लगायतका गाउँहरूमा भक्तजनहरूले भव्य रूपमा माता रानीको डोला घुमाएर पूजा–अर्चना गरेका छन्। परम्पराअनुसार, यस दिन माताको आँखा खोल्ने विधि सम्पन्न गरिन्छ, जसले देवी जागृत भई भक्तजनको कल्याण गर्ने विश्वास रहँदै आएको छ।

सातौं दिनको विशेषतामा फुलपाती विधि समेत समावेश रहन्छ, जहाँ घर–घर र मन्दिर–मन्दिरमा पूजाआर्चना गरी देवीको स्वागत गरिन्छ। भक्तजनहरू ढोल–नगारा, बाजागाजासहित सामूहिक रूपमा डोला निकाल्दै गाउँ परिक्रमा गर्छन्। महिलाहरू परम्परागत भेषभूषामा सजिएर देवीको आराधना गर्दछन् भने युवा वर्ग झाँकी, भजन–कीर्तनमा सहभागी भएर वातावरणलाई झनै भक्तिमय बनाएका छन्।

सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न टोल–बस्तीमा पनि आज बिहानैदेखि माता रानीको जयघोष, डोला यात्रा र फुलपाती पूजाको कार्यक्रम सम्पन्न गरिएको स्थानीयहरूले बताएका छन्। स्थान–स्थानमा माता रानीको भव्य स्वागत, आरती, प्रसाद वितरण लगायतका कार्यक्रमहरू गरी धार्मिक उत्सवलाई उल्लासमय बनाइएको छ।

बडादसैंको सप्तमीसँगै अब अष्टमी, नवमी र दशमीको तयारी पनि सुरु भएको छ। भक्तजनहरू देवी दुर्गाको आराधनामा तल्लीन छन् र देशभर धर्म, संस्कृति र एकताको प्रतीकका रूपमा दसैं पर्व उल्लासपूर्वक मनाइँदैछ।