पंचगावाँ । पर्सामा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले मातहतका ईलाका प्रहरी कार्यालयका इन्चार्ज अर्थात प्रहरी निरीक्षकहरूसँग एक वर्षको कार्यसम्पादन सम्झौता गरेका छन्।

आइतबार प्रहरी उपरीक्षक पाठकले ईलाका प्रहरी कार्यालय वीर्ता, श्रीपुर, पटेर्वा, सुगौली, ठोरी र पोखरियाका प्रहरी निरीक्षकहरूसँग एक वर्षका लागि लिखित रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन्।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा रहेका मातहतका पाँचवटा ईलाका प्रहरी कार्यालयका इन्चार्जहरूसँग कार्यसम्पादन सम्झौता गरिएको प्रहरी उपरीक्षक पाठकले बताए।

उनका अनुसार, हरेक नयाँ आर्थिक वर्षमा साउनदेखि असारसम्म एक वर्षका लागि जिल्ला प्रहरी कार्यालयले मातहतका ईलाका प्रहरी कार्यालयका इन्चार्जहरूसँग कार्यसम्पादन सम्झौता गर्दै आएको छ। चालू आर्थिक वर्षमा भने यसअघि तत्कालीन प्रहरी उपरीक्षकले गर्न नसकेको कार्यसम्पादन सम्झौता आइतबार उनले गरेका हुन्।

कार्यसम्पादन सम्झौतामा, एक वर्षभित्र अपराध अनुसन्धानलाई कसरी प्रभावकारी बनाउने, राजस्व संकलनमा प्रहरीको तर्फबाट कसरी सहयोग गर्ने, विगतमा छिनोफानो हुन नसकेका मुद्दाहरूलाई कसरी निष्कर्षमा पुर्‍याउने, नयाँ मुद्दाहरूलाई कसरी अगाडि बढाउने, र शान्ति सुरक्षालाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयहरू समावेश गरिएको छ।

त्यस अवसरमा प्रहरी उपरीक्षक पाठकले कार्यसम्पादन सम्झौता अनुसार काम गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिएका थिए। कार्यसम्पादन सम्झौता कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको पनि उपस्थिती रहेको थियो।