जिराभवानी (पर्सा) । पर्साको ठोरी गाउँपालिका–४, विजयवस्तीमा चौथो ठोरी गोल्डकप–२०८२ सोमबार भव्य समारोहबीच उद्घाटन भएको छ। ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रमुख अतिथिको रूपमा प्रतियोगिताको विधिवत् उद्घाटन गर्नुभयो।

स्वर्गीय समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा प्रत्येक दुई वर्षमा आयोजना हुने यस प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय कलाकारहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए। नेपाली कांग्रेस ठोरीका सभापति तथा सामाजिक अभियन्ता सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। समारोहमा खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। प्रमुख अतिथि श्रेष्ठले खेलकुदले युवालाई अनुशासित र स्वस्थ बनाउनका साथै सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

यसपटकको गोल्डकपमा १६ क्लबले सहभागिता जनाएका छन्, जसमा दुई स्थानीय क्लब पनि समावेश छन्। असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक ४ गते लक्ष्मी पूजाको दिन फाइनल खेलसहित सम्पन्न हुनेछ। आयोजक समितिका अनुसार विजेता टोलीले नगद रु. ३ लाख ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

उद्घाटन खेलमा मिलन युथ जमात, झापा र बिएफसी चितवनबीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक बनेको खेलमा बिएफसी चितवनले २–१ को स्कोरले झापालाई हराउँदै शानदार जित दर्ता गर्‍यो। बिएफसीका राज भुसालले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिमतिर मिलन युथका राजिब राईले पेनाल्टीमार्फत एक गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका राज भुसाल खेलको म्यान अफ द म्याच घोषित भए।