पर्सा । नेपाल सरकारको निर्णय अनुसार पर्साको पकहाँ मैनपुर गाउँपालिकामा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति तथा सम्झौता रद्द गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह समन्वय शाखा) को च.नं. ११३ मिति २०८२/०६/०८ र अर्थ मन्त्रालयको प.सं. २०८२/८३ (बजेट) च.नं. ११८ मिति २०८२/०६/०७ का पत्रहरूका आधारमा नेपाल सरकारको मिति २०८२/०६/०६ गतेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय बमोजिम, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाइने” भनी गरिएको निर्णय लागू गरिएको हो।

सोही निर्णयको कार्यान्वयनस्वरूप पकहाँ मैनपुर गाउँपालिका अन्तर्गत दरबन्दी बाहेक अस्थायी रूपमा नियुक्त दैनिक ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूको नियुक्ति तथा सम्झौता मिति २०८२/०६/१३ गतेदेखि रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिएका छन्।

यसबीच, केही समयअघि करार सेवामा नियुक्तिका क्रममा लिइएको रकम फिर्ता गराउनका लागि करार कर्मचारीहरूले युवा नेता अकलेश साहलाई जानकारी गराएका थिए। सो विषयमा प्रतिक्रिया दिंदै युवा नेता साहले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिंदै भनेका छन् —“नियुक्तिका बेला लिइएको पैसा तुरुन्त फिर्ता गर्नुपर्छ, यदि फिर्ता नगरिए गरिब र असहाय करारमा रहेका कर्मचारीलाई लिएर गाउँपालिका कार्यालय घेराउ गर्ने” चेतावनी दिएका छन्।