बेइजिङ । हामीले हातखुट्टाबाट काटिएका नङका टुक्राहरू फ्याकिदिन्छौँ । तर चीनमा भने हातका नङका टुक्राटाक्रीहरू अनलाइनमा किनबेच भइरहेका छन् ।

त्यहाँ यसलाई परम्परागत औषधि बनाउने सामग्रीको रूपमा किनबेच गरिन्छ । चिनियाँ परम्परागत औषधि अनुसार यसलाई बच्चाहरूमा पेटको फोहोर र टन्सिलाइटिस जस्ता समस्याको उपचार गर्न प्रयोग गरिने धुलो बनाउन प्रयोग गरिन्छ ।

परम्परागत चिनियाँ औषधि उत्पादन गर्ने कम्पनीहरूले स्कुल र गाउँहरूबाट नङ्गका टुक्राटाक्री किन्ने गरेका छन् । यसलाई राम्ररी धोएर सुकाइन्छ अनि पिसेर मसिनो धुलो बनाइन्छ, जुन विभिन्न औषधीय उत्पादनहरूमा मिसाइन्छ । मानव वयस्कहरूले प्रति वर्ष औसतमा लगभग १०० ग्रामसम्म नङ बढाउँछन् । माग धान्न पर्याप्त मात्रामा नङ सङ्कलन गर्नु गाह्रो काम हो । त्यसैले यसको मूल्य पनि निकै धेरै छ ।

चिनियाँ मिडिया आउटलेट कान्कन न्युजले हालै छापेको समाचार अनुसार हबेईकी एक महिलाले आफ्नो औंलाको नङका टुक्राटाक्रीहरू अनलाइनमा प्रति किलोग्राम १५० युआन (२१ अमेरिकी डलर)मा बेचिरहेकी थिइन् । उनले बाल्यकालदेखि नै काटेका नङका टुक्रा जम्मा गर्दै आएकी थिइन । यसलाई बेचेर पैसा कमाउने उनको ध्येय थियो ।

चीनमा १९६० को दशकदेखि परम्परागत औषधिमा मानव नङको प्रयोग सुस्त भएको थियो । नेल पालिसको बढ्दो लोकप्रियताले यसको व्यापार चौपट हुन थाल्यो । समय बित्दै जाँदा, समान प्रभाव प्रदान गर्ने अन्य वैकल्पिक सामग्रीहरूको प्रयोग हुन थाले । तर हातका नङको प्रयोग भने कहिले हटेन । अब भने यसको विक्री पुनः बढ्न थालेको छ ।