वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१०, गहवामाई मन्दिर नजिकैको दसैँ मेलामा मंगलबार राति भएको झडपमा एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका २२ वर्षीय शिवम साह कानु (प्रसिद्ध नाम गोल्डेन खान) रहेका छन्। हाल उनी वीरगञ्जमा डेरामा बस्दै आएका थिए र पेशाले ई–रिक्सा चालक थिए। प्रहरीका अनुसार, मृतकका बुबा हिन्दु र आमा मुस्लिम धर्म मान्ने हुन्।

मंगलबार राति करिब ११:४५ बजे माइस्थान–गीता मन्दिरतर्फको बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद सुरु भएको थियो। विवाद चर्किएपछि एक समूहले बाँसको लट्ठी प्रयोग गरी शिवममाथि प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले यस घटनालाई ‘ग्याङफाइट’ नभई लक्षित आक्रमणका रूपमा लिएको बताएका छन्। उनले भने, “दुवै समूहबीच पुरानो रिसिइवीका कारण विवाद भएको देखिन्छ। यो सुनियोजित आक्रमणजस्तो देखिन्छ।”

घटनापछि प्रहरीले तत्कालै १० जनालाई नियन्त्रणमा लिएको छ। तर उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएकाले पहिचान सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूले भीडभाड हुने मेलामा पर्याप्त प्रहरी उपस्थित नभएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनीहरूले प्रहरीको ढिलासुस्ती र कमजोर व्यवस्थापनकै कारण यस्ता घटनाहरू बढिरहेको भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रहरीले शवलाई नारायणी अस्पतालमै राखेको छ। पोस्टमार्टमपछि थप विवरण सार्वजनिक गरिने र घटनाबारे अनुसन्धान तीव्र रूपमा भइरहेको एसपी पाठकले जानकारी दिएका छन्।