वीरगञ्ज, असोज १८ । देशभर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सरकारी कार्यालयहरू आइतबारदेखि नियमित खुल्ने तय भए पनि राजमार्गहरूमा खसेका पहिरो, अवरुद्ध सडक र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सतर्कताका कारण थप दुई दिन बिदा दिने निर्णय भएको हो।

यससँगै, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षा व्यवस्थाबारे विशेष छलफल भएको छ। उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने र नेपाली सेनाको टोलीलाई आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णयसमेत गृह मन्त्रालयले गरेको जनाएको छ।

सरकारले जारी गरेको बिदाका कारण आगामी दुई दिन सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन् भने विद्यालय, बैंक तथा वित्तीय संस्था पनि प्रभावित हुनेछन्।