काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मनसुनका कारण देशका विभिन्न भूभागमा बढ्न सक्ने बाढी, पहिरो र प्राकृतिक विपद्‌को जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सबै पक्षलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा विपद्का कारण उत्पन्न हुनसक्ने जटिल परिस्थिति र मानव अधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विपद्मा जनधनको क्षति रोक्नका लागि संयमता, धैर्यता, सक्रियता र विवेकपूर्ण ढंगले जिम्मेवारी वहन गर्नुपर्ने आयोगको भनाइ छ।

आयोगले सरकारलाई विपद्पूर्व तयारीलाई प्राथमिकतामा राखी सम्भावित जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सम्बन्धित संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न निर्देशन दिएको छ। साथै, उद्धार कार्यमा विशेष ध्यान दिनुपर्ने आयोगको आग्रह छ।

त्यसैगरी आयोगले राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता र विभिन्न संघ–संस्थाहरुलाई पनि विपद्पूर्व तयारी तथा उद्धारमा सहयोग गर्न अनुरोध गरेको छ।

सर्वसाधारणलाई भने सकेसम्म अनावश्यक आवतजावत नगर्न, प्राप्त सूचना अरूसम्म पु¥याउन र क्षति न्यूनीकरणमा आफ्नो व्यक्तिगत प्रयास समेत स्वसक्रिय बनाउन आयोगले आग्रह गरेको छ।