पंचगावाँ, असोज २० । पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडी, बैजनाथपुर र सखुवा प्रसौनी–२ घुसुकपुरलगायत टोलहरूमा बौलाहा कुकुरको आक्रमणबाट १५ जना घाइते भएका छन्।

घाइतेहरूमा भूषण यादव, दीपेन्द्र ठाकुर, अमिरका चौधरी, अनीता चौधरी, सन्ध्या कुमारीलगायत रहेका छन्। स्थानीयका अनुसार शुक्रवार बिहानदेखि बौलाहा कुकुरले विभिन्न स्थानमा आक्रमण गर्दै मानिसहरूलाई टोकेको थियो।

पीडितहरूलाई रेबिजविरुद्धको खोपका लागि पोखरिया अस्पताल लगिएको भए पनि त्यहाँ औषधि अभावका कारण उपचार रोकिएको घाइते भूषण यादवले बताएका छन्। उनका अनुसार “प्रदेशले खोप पठाइसकेको रहेछ, तर अस्पतालले ल्याएको छैन।”

नारायणी अस्पताल वीरगंजका आकस्मिक विभाग प्रमुख डा. प्रह्लाद साहका अनुसार अस्पतालमा हाल पर्याप्त मात्रामा रेबिजविरुद्ध खोप र इम्युनोग्लोबुलिन उपलब्ध छ।

तर पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट आनन्द रौनियारले भने प्रदेश स्वास्थ्य विभागले १५–१६ दिनदेखि नयाँ खोप नपठाएकै कारण सेवा रोकिएको बताए।

प्रदेश कार्यालय र अस्पतालबीचको समन्वय अभावका कारण बौलाहा कुकुरका पीडितहरू अहिले उपचारविहीन बन्न बाध्य भएका छन्।