पंचगावाँ। काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारमा आगलागी हुँदा महानगरले दमकल नपठाएको आरोपबारे प्रतिक्रिया दिएका छन्। उनले आन्दोलनकारीको अवरोधका कारण दमकल ढिलो पुगेको स्पष्ट गरेका छन्।

उनका अनुसार सिंहदरबार जलेको सूचना पाएलगत्तै दमकल पठाउने प्रयास भए पनि हुलले काम गर्न नदिँदा दमकल राति ८:१५ बजे मात्रै त्यहाँ पुगेको थियो। उनले गलत प्रचारमा नपर्न आग्रह गर्दै “देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ,” भने।

शाहले हाल महानगरसँग न्यूरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी ५ दमकल सञ्चालनमा रहेको जानकारी पनि दिएका छन्। ती दमकलमा १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी ४४ जनाको टोली तीन सिफ्टमा खटिने गरेको उनले बताए।